बालकोट पुगेर सुनिल शर्माको दाबी : अब प्रचण्डको पक्षमा २० मत पनि आउँदैन, कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ

काठमाडौं, साउन २८ गते । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुग्नुभएको छ । काठमाडौं जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनुभएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।

ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गर्नुभयो । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको हहाँले बताउनुभयो । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताउनुभयो ।