पार्टी बैठकमा प्रष्ट पारेर हुँदैन, महरामाथि छानबिन नै हुनुपर्छ : गगन

काठमाडौं, साउन २९ गते । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सय केजी सुन तस्करीमा नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन हुनुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको जारी बैठकमा उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गर्दै उहाँले प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति आशंका व्यक्ति गर्नुभएको छ ।

बैठकमा उहाँले भन्नुभयो, ‘यो तस्करी सानो मान्छले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’

प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई छानबिनमा सघाउन लगाउनुको सट्टा पार्टी बैठकमा स्पष्ट पार्नु भनेकोप्रति गगनले असन्तुष्टि जनाउनुभएको छ ।

आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई सुन प्रकरणको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्न भनेका थिए ।