अब व्यक्तिगत घटना दर्ता घरबाटै

गोरखा, भदौ १२ गते । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई व्यक्तिगत घटना दर्ता घरबाटै गर्नसक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले अनुसार जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेदलगायत घटना घरबाटै गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब वडा कार्यालयमा धाउनु पर्दैन, अनलाइनमार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।”

घटना दर्ताका लागि मोबाइल वा कम्युटरमार्फत विवरण अनलाइनमार्फत भर्न सकिनेछ । भौगोलिक हिसाबले जटिल रहेको अजिरकोटभित्रका केही वडामा वडा कार्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था छ । त्यसैले नागरिकको घरघरसम्म सेवा पु¥याउन घटना दर्ता अनलाइन माध्यमबाट गर्न थालिएको उहाँको भनाइ छ । बसाइँसराइ नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने अध्यक्ष देवकोटाले बताउनुभयो ।

“अब घटना दर्ताका लागि फारम भर्न वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “अवदेखि घरमा बसेर आफ्नो मोबाइलबाट घटना दर्ताको फारम भरेर सेवा लिन पाउनेछन् ।

अनलाईनमार्फत घटना दर्ताका गरेपछि सेवाग्राहीले टोकन प्राप्त गर्ने र सम्बन्धित वडा कार्यालयमार्फत घटना दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।” अनलाइन फारम भर्नका लागि वेबसाइट र क्युआर कोड दुवै प्रयोगमा ल्याइएको अध्यक्ष देवकोटाले बताउनुभयो ।