जुम्ला–मनाङ सडकको काम तीव्रगतिमा हुँदै

जुम्ला, भदौ २४ गते । जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ । सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ अगाडि बढाइएको कार्यालयका सव–इञ्जिनियर वीरेन्द्र रावलले जानकारी दिनुभयो ।

जुम्लादेखि डोल्पाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ । निर्माण भइसकेको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटरमा ग्राभेल गरिएको रावलको भनाइ छ । सडकलाई गुणस्तरीय बनाउनका लागि आरसिसी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सडक निर्माणलाई तीव्रता दिन इञ्जिनियर चित्र चौलागाई, सव–इञ्जिनियर कमला चौलागाई र वीरेन्द्र रावल तथा सुपरभाइजर मदन महतलाई निर्माणस्थलमै खटाइएको कार्यालय प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो ।

पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकमा आरसिसि प्रयोग गरिएको छ । सडक निर्माणका लागि कार्यालयले रु नौ करोड ६३ लाखमा थोदुङ कन्ट्रक्सन काठमाडौँसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ पुसभित्र काम सम्पन्न गर्नुपर्नेछ ।