सुन तस्करीमा संलग्न २९ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ, भदौ ३१ गते । सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध मुद्दा दायरको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिनुभयो ।,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता ६१ किलो सुन तस्करीको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । प्रहरीको राय अनुसार सरकारी वकिलले मु्द्दा लगेको हो ।

यो प्रकरणमा पक्राउ परेका मध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । यो प्रकरणमा संलग्न रहेका फरार सूचीमाका १५ जनाविरुद्ध थप अनुसन्धान जारी रहने छ ।