शिक्षकका माग पूरा गर्न नसकिने खालका छैनन् : प्रचण्ड

बर्दिया—  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकको माग पूरा गर्न नसकिने खालका नभएको बताएका छन्।

बर्दियाको राजापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शिक्षकहरूले विगतका सहमति कार्यान्वयनको माग मात्रै गरेकाे बताए।

‘हजारौँ–लाखौँ शिक्षकहरू आफ्नो जायज माग लिएर आन्दोलित छन्। उनीहरूको धेरै भनाइ छैन। शिक्षकहरूले धेरै, केही नयाँ र पूरा गर्न नसकिने माग गरेका छैनन्। हिजोका सरकारसँग भएको सम्झौता, सहमतिअनुसारको ऐन बनाइदेऊ भन्नेबाहेक उनीहरूको कुनै ठुलो माग छैन,’ उनले भने।

Laxmi sunrise bank 2034

आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग सहमति गरेर संसदमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको उल्लेख गर्दै प्रचण्डले विधेयक पास गरे समस्याको समाधान हुने प्रस्ट्याए।

‘म प्रधानमन्त्री हुँदा त्यही सम्झौताअनुसार नै मैले विद्यालय शिक्षा विधेयक भनेर सदनमा दर्ता गराएको छु। त्यही विधेयकमाथि अहिले उपसमितिमा छलफल भइरहेको छ,’ उनले भने। यद्यपि, विधेयक पारित गर्नुको साटो सरकारले शिक्षकहरुलाई अपमानित र उत्तेजित गर्ने काम गरिरहेको प्रचण्डको भनाइ छ।