काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ५८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा उक्त संख्यामा शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष तथा ३९० वटा आंशिक अंग भएका शव रहेका छन्।
फेला परेका शवमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। यस्तै, ५८ शव आफन्तलाई बुझाइएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको छ।
यसैबीच, प्रहरीको पछिल्लो तथ्यांकअनुसार बाढीपछि ४ हजार ६०६ जना अझै सम्पर्कविहीन छन्। ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिइएको प्रहरीले जनाएको छ।
बाढीबाट रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी बेपत्ता तथा सम्पर्कविहीनको खोजी जारी राखिएको छ।



