प्रचण्डलाई फेसबुकबाटै ओलीको जवाफ– प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुर जानुस्

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि मैदानको प्यारापिट र फ्लडलाइटका पोल हेर्न कीर्तिपुर जान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेतासमेत रहेका प्रचण्डले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै ३६५ दिन बितिसक्दासमेत प्रधानमन्त्री ओलीले घोषणाअनुसार काम गर्न नसकेको भन्दै प्रश्न गरेका थिए, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट?’

संसदमा अनुपस्थित रहेका प्रधानमन्त्री ओलीले फेसबुकबाटै त्यसको जवाफमा भनेका छन्, ‘बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’ प्रचण्डले प्रधानमन्त्री हुँदा टाइमलाइन तोकेर कुनै घोषणा नगरेको बताउँदै ओलीले तथ्यांक हेरेर मात्रै बोल्न सुझाव दिएका छन्।

Shivam Cement

उनले फेसबुकमा लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन। सरकारको कामबारे तथ्य तथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ। तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’