विपद्को विषयलाई ठिक ढंगले सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं —  गृहमन्त्री रमेश लेखकले तराई–मधेसमा पानीको गम्भीर अभाव सिर्जना भएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकमा बोल्दै मन्त्री लेखकले मुलुकका विभिन्न भूभाग, विशेष गरी मधेस र तराई क्षेत्रमा खानेपानी र सिँचाइका लागि पानीको हाहाकार रहेको जानकारी दिए।

Shivam Cement

‘अहिले मुलुकको मधेस, तराई क्षेत्रमा पानीको अत्यन्त ठूलो अभाव सिर्जना भएको छ। विभिन्न ठाउँमा खानेपानीकै समस्या छ, अभाव छ,’ उनले भने, ‘अहिले मध्य बर्खाको धान रोपाईं गर्ने बेलामा विभिन्न जिल्लाहरुमा रोपाईं हुन सकेको छैन।’

मन्त्री लेखकका अनुसार अहिलेको परिस्थिती जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो। उनले हालै रसुवागढीमा आएको बाढी र त्यसले मितेरी पुल बगाएपछि भएको जनधनको क्षतिको पनि स्मरण गरे।

‘हाम्रो देशमा पर्याप्त वर्षा नभए पनि बाढीले ठूलो क्षति पु–याएको छ। मधेस तराईमा भने पानीको हाहाकार छ। यी सबै जलवायु परिवर्तनकै असर हुन्,’ उनले भने।

गृहमन्त्री लेखकले नेपाल प्राकृतिक विपद् जोखिमको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै भूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्ले देशलाई निरन्तर चुनौती दिइरहेको बताए। ‘अब केही समयपछि अत्यधिक वर्षा भएर फेरि बाढी र डुबानको स्थिती हुन सक्छ,’ उनले भने।

सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको मन्त्री लेखकले स्पष्ट पारे। ‘कुनै पनि प्रकारको विपद्लाई ठिक ढंगले सम्बोधन गर्न, व्यवस्थापन गर्न र नागरिकलाई परेको पीडामा सरकार गम्भीर भएर काम गर्छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने।

तराई–मधेसको संकटलाई सम्बोधन गर्न सरकारले साउन ८ गते सम्बन्धित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको जानकारी पनि उनले दिए।