काम नगर्ने ठेकेदार टेम्केमैयुङ गाउँपालिकाको कारबाहीमा, स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन

भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले सम्झौताअनुसार काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको १५ शय्याको कोट अस्पताल निर्माण कार्य अलपत्र पारिएको भन्दै सम्बन्धित निर्माण कम्पनीलाई कारबाही गर्न लागिएको हो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी, विराटनगरलाई सात दिनभित्र आवश्यक स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्क नगरेमा प्रचलित कानुन तथा सम्झौताका आधारमा एकतर्फी कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

समयमै काम सम्पन्न नगर्ने, निर्माणस्थलमा काम अधुरो छाड्ने तथा पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको कारण ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र सम्झौताका शर्तअनुसार आवश्यक कानुनी कदम चाल्न सकिने सूचनामा उल्लेख छ ।

सम्झौताअनुसार काम पूरा नगरे ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाहीसमेत हुनसक्ने गाउँपालिकाले स्पष्ट पारेको छ ।

निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले स्वास्थ्य सेवामा पहुँच नपाएको गुनासो गर्दै आएका छन् । अस्पताल निर्माण अलपत्र परेपछि सेवाग्राहीले आवश्यक स्वास्थ्य सेवा समयमै प्राप्त गर्न कठिनाइ भोग्नुपरेको छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले विकास निर्माणमा लापरबाही गर्ने प्रवृत्तिविरुद्ध कडाइ गर्दै सार्वजनिक आयोजना समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाए ।