त्रिवेणी सिन्थेटिकले बुझायो विद्युत् बक्यौता, काटिएको विद्युत पुनः जाेड्याे प्राधिकरणले

बारा — बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् प्रिमियम महसुलको बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि बुधबार साँझ कम्पनीको विद्युत् लाइन पुनः जडान गरिएको हो।

प्राधिकरणले ४ कात्तिकमा बक्यौता रकम नतिरेपछि त्रिवेणी सिन्थेटिकको विद्युत् सेवा विच्छेद गरेको थियो। कम्पनीले त्यसपछि बक्यौता रकम किस्ताबन्दीमा तिर्न सहमति जनाएको हो।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइन बापतको प्रिमियम महसुलको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

कुल बक्यौतामा २८ किस्तामा तिर्ने व्यवस्था गरिएको छ, जसअन्तर्गत कम्पनीले पहिलो किस्ताका रूपमा १५ लाख ७१ हजार रुपैयाँ बुझाएको हो।

प्राधिकरणका अनुसार बाँकी रकम निर्धारित समयसीमाभित्र बुझाउने सहमतिसमेत भएको छ। बक्यौता चुक्ता प्रक्रिया अघि बढेकाले औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा सहजता आएको जनाइएको छ।