बैंकिङ क्षेत्रसँग सहकार्य बढाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट मार्ग तय गरिएको उल्लेख गर्दै अबको मुख्य चुनौती र प्राथमिकता प्रभावकारी कार्यान्वयन रहेको बताए ।

उनले अर्थतन्त्रको वास्तविक अवस्था, लगानीको वातावरण र बजारको मनोविज्ञानबारे बैंकिङ क्षेत्र सबैभन्दा नजिक रहेको उल्लेख गर्दै बजेट कार्यान्वयन तथा आर्थिक गतिविधि विस्तारका लागि बैंकरहरूको सुझाव र अनुभव महत्वपूर्ण हुने धारणा राखे ।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले वर्तमान अर्थतन्त्रमा देखिएका केही विरोधाभासपूर्ण अवस्थाप्रति समेत चासो व्यक्त गरे । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून रहेको अवस्थामा पनि कर्जाको माग अपेक्षित रूपमा नबढ्नु तथा निजी क्षेत्र लगानी विस्तारमा हिचकिचाउनु चिन्ताको विषय भएको उनले बताए ।

“सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमन हुने निकायको मात्र होइन, साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो,” अर्थमन्त्री वाग्लेले भने, “आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन्। जहाँ कानुनी तथा प्रक्रियागत सुधार आवश्यक हुन्छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्ने छैन।”

उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आर्थिक सुधारका लागि निरन्तर संवाद आवश्यक रहेको बताए ।

अर्थमन्त्री वाग्लेले छलफल केवल समस्या पहिचानमा सीमित नहुने स्पष्ट पार्दै बैंकिङ क्षेत्रबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य नीतिगत तथा संरचनागत सुधारमा रूपान्तरण गरिने आश्वासन दिए ।

सरकारले आर्थिक गतिविधि विस्तार, लगानी अभिवृद्धि र निजी क्षेत्रको विश्वास पुनःस्थापनालाई प्राथमिकतामा राखेका बेला अर्थमन्त्री र बैंकिङ क्षेत्रबीच भएको यो छलफललाई अर्थतन्त्र चलायमान बनाउने प्रयासका रूपमा हेरिएको छ।