राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक : सिटौला

काठमाडौं, पुस २३ गते । राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताउनुभयो । त्यही जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताउनुभयो ।

सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले भन्नुभयो, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

यदि आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

सिटौलाले भन्नुभयो, ‘नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक छ । सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रुपबाट संयुक्त भएर जानु आवश्यक देखेको छु मैले ।’

उम्मेदवार छनौटको सन्दर्भमा जतिसुकै विमती भए पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उहाँले बताउनुभयो । ‘निर्वाचनका उम्मेदवार छनोट गर्ने निर्णयका सन्दर्भमा जे जति कुराहरु भएका छन् ती सबलाई थाती राखेर हामी आफ्नो पार्टीका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भरमग्दुर प्रयास गर्छौं । संयुक्त रुपले एकताबद्ध भएर अगाडि जान्छौं ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले पार्टीका उम्मेदवार छनौट प्रक्रियाप्रति असहमति जनाउनुभएको थियो । थापाले विधि मिचिएको भन्दै दुई बुँदे फरक मत लेखे भने शर्माले मौखिक रुपमा ६ बुँदे विमती रान्नुभएको थियो ।