काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण मागेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घरघरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको विषयमा आयोगले महानगरलाई पत्र लेख्दै जवाफ मागेको हो ।
आयोगले उक्त कार्यक्रम सुरु गर्ने सन्दर्भमा कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको उल्लेख गर्दै महानगरपालिकासँग आवश्यक कागजातसहित जवाफ मागिएको जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) को व्यवस्थालाई आधार बनाउँदै महानगरसँग स्पष्टीकरण सोधेको हो ।
उक्त उपखण्डमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेक अन्य कार्यक्रम सञ्चालन गर्न, नयाँ नीति÷योजना÷कार्यक्रम घोषणा वा स्वीकृत गर्न नहुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ। यद्यपि सरुवा रोगको महामारी वा नियन्त्रणबाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।
आयोगले महानगरसँग सोधेको मुख्य प्रश्न भने यही हो— कार्यबाहक नगर प्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको हो वा होइन?
यस विषयमा आयोगले जवाफसहित आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ ।
आयोगले सोमबार महानगरलाई लेखेको पत्रमा भनिएको छ, “यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए सो कागजातको प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ ।”
आचारसंहिता लागू भएको समयमा महानगरले नयाँ कार्यक्रम सञ्चालन गरेको भन्ने विषय सार्वजनिक भएपछि यसबारे बहस सुरु भएको छ । आयोगको पत्रपछि अब महानगरपालिकाले कार्यक्रम बजेटमा समावेश थियो÷थिएन भन्ने आधारसहित प्रमाण पेश गर्नुपर्नेछ ।



