काठमाडौं – सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट गरी प्रदेशका प्रमुख विकास आयोजना र जनसरोकारका विषयमा ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा सांसदहरूले सुदूरपश्चिमको समग्र विकास, वर्तमान राजनीतिक अवस्था तथा स्थानीयस्तरमा देखिएका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
भेटका क्रममा सांसदहरूले सरकारले सुशासन प्रवर्द्धनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसदमार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा जनताले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताइएको छ।
सांसदहरूले गेटा विश्वविद्यालय सञ्चालन, पश्चिम सेती जलविद्युत् आयोजना तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना जस्ता दीर्घकालीन महत्वका परियोजनालाई शीघ्र अघि बढाउन आग्रह गरेका छन्। यस्तै, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक निर्माण, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण तथा तटबन्ध निर्माणका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो।
उनीहरूले दोधारा–चाँदनी क्षेत्रमा भइरहेको नदी कटान, भन्सार नाकामा देखिएका समस्या, आरक्ष पीडितका गुनासा तथा हुलाकी सडक निर्माणको सुस्त गतिप्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन्। किसानहरूले धान खरिद–बिक्रीका क्रममा भोग्नुपरेका समस्या समाधान गर्न आवश्यक पहल गर्न पनि सांसदहरूले आग्रह गरेका थिए।
भेटमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।
सांसदहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाहले आवश्यक पहल र समन्वय गर्ने आश्वासन दिनुभएको जनाइएको छ।



