‘बुटवलमा योजना कार्यान्वयनमा समन्वय अभाव’

बुटवल, जेठ ५ गते । बुटवल उपमहानगरपालिकामा सञ्चालित योजना कार्यान्वयनमा समन्वयको अभाव रहेको सरोकारवालाले बताएका छन् । बुटवलको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा योजना कार्यान्वयनमा समन्वय नहुँदा योजना समयमा पूरा नभएको बताइएको छ ।
बुटवल उपमहानगरपालिकाले आज नगरका राजनीतिक दल, बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिसँग गरेको अन्तरक्रियामा सरोकालावालाले सङ्घ र प्रदेशबाट साना योजना ल्याउने र योजना दोहोरिने गर्दा अलमल हुने गरेको बताएका छन् । दलका अध्यक्ष तथा प्रतिनिधिहरुले निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा त्यसको दोष सरकार र राजनीतिक दलहरुमाथि आइरहेको भन्दै समयमा योजना पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुझाव दिएका थिए ।
बुटवलमा शिक्षा, स्वास्थ्यका क्षेत्रमा निजी र सरकारी क्षेत्रमै एकरुपता नभएको र सरकारी क्षेत्रले निजीले जसरी रकम असुल्ने गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्नतर्फ बुटवलले चासो दिनुपर्ने सुझाव दिएका थिए । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले विकासमा लय समात्दै गरेको र आर्थिक वर्ष पूरा हुँदै गर्दा बुटवलको विकासको नतिजा देखिने बताउनुभयो ।
उहाँले बुटवलको समृद्धिमा आर्थिक क्षेत्रमा सक्रिय संस्थाको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले सहकार्य र समन्वय गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सबै राजनीतिक दल मिलेर बुटवलको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रशासनिक काम कारबाही चुस्त बनाउँदै जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा सुधार भएको र सहज भएको बताउनुभयो ।