काठमाडौं — करदाता उपहार प्रोत्साहन कार्यक्रमअन्तर्गत योग्य कारोबार तथा बिलको संख्या ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार दिउँसोसम्म कार्यक्रमका लागि योग्य कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको हो।
विभागका अनुसार उक्त संख्यामा क्यूआरमार्फत गरिएको कारोबार र नगद कारोबारपछि प्रणालीमा प्रविष्ट गरिएका बिलहरू समावेश छन्। उपहार घोषणा हुनुअघि नगद कारोबारमा प्राप्त भौतिक बिल अझै पनि प्रणालीमा अपलोड गर्न सकिने भएकाले योग्य कारोबारको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।
विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म क्यूआरमार्फत गरिएका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य ठहरिएका छन्।
यस्तै, शनिबारदेखि सञ्चालनमा ल्याइएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उपभोक्ताको उल्लेख्य सहभागिता देखिएको छ। हालसम्म नगद कारोबारपछि प्राप्त तीन हजार ४२७ वटा बिल प्रणालीमा प्रविष्ट भइसकेका छन्।
विभागले साउन १ देखि १५ गतेसम्मको अवधिका लागि पहिलो चरणको उपहार कार्यक्रमअन्तर्गत १५ जना उपभोक्तालाई दैनिक एक–एक लाख रुपैयाँ तथा एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने तयारी गरेको छ।
पहिलो उपहार घोषणा साउन १६ गते गर्ने योजना रहे पनि प्राविधिक तयारी पूरा नभएका कारण केही दिन ढिलाइ भएको विभागले जनाएको छ। विभागले पहिलो चरणको उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारबाट प्राप्त बिल प्रणालीमा प्रविष्ट गर्न उपभोक्तालाई आग्रह गरेको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम घोषणा गर्नुभएको थियो। कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
यस कार्यक्रमअनुसार हरेक दिन एक जना उपभोक्तालाई करकट्टीपछि एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक १५ दिनमा एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गरिने व्यवस्था छ। बम्पर उपहार रकममा भने प्रचलित कानुनअनुसार कर कट्टी गरिने विभागले जनाएको छ।



