म्याग्दी – मङ्गला गाउँपालिकाका किसानहरूले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने परम्परालाई आज पनि निरन्तरता दिँदै आएका छन् । मङ्गला गाउँपालिका–२ सिममा स्वर्गीय रामबहादुर खत्रीले करिब एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको फलामे कोलमा प्रत्येक वर्ष पुष र माघ महिनामा उखु पेल्ने चलन अहिलेसम्म कायम रहेको छ ।
रामबहादुरका छोरा र नातिहरूले हलगोरुको सहायतामा कोल घुमाउँदै पुख्र्यौली परम्परालाई जोगाइरहेका छन् । उनका नाति ध्रुव खत्रीका अनुसार अहिले विद्युतीय उपकरणबाट उखु पेल्ने सुविधा भए पनि परम्परागत कोलमा उखु पेल्ने चलन लोप भएको छैन ।
“पहिला काठको कोलमा उखु पेल्दा निकै दुःख भएपछि हजुरबुबाले भारतबाट फलामे कोल ल्याउनुभएको रहेछ,” खत्रीले भने, “एक सय किलोग्राम तौल भएका तीनवटा पाटपुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर सिमसम्म ल्याएका थिए ।”
सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले कोल बोकेर ल्याएको स्थानीयहरूले सम्झना गर्छन् । त्यसबेला गाउँघरमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग गर्ने चलन व्यापक थियो । चिनीको सहज उपलब्धता नहुँदा प्रत्येक घरमा उखुखेती गरिन्थ्यो ।
कोलमा उखु पेलेबापत १० लिटर रस बराबर रु एक सय शुल्क लिने गरिएको छ । उखु पेल्न पालो लगाउनुपर्ने व्यवस्था छ । उक्त कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजा, बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट समेत किसानहरू आउने गरेका छन् ।
मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलका अनुसार उखुको रसबाट बनाइने खुदो धार्मिक कार्यमा प्रयोग गरिनुका साथै घाँटी दुख्दा तथा गाईभैँसी बिरामी हुँदा औषधिका रूपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शरीर शीतल हुने उहाँको अनुभव छ ।
मानिस वा गोरुले तेर्सो राखिएको काठ घुमाएर फलामे कोल चलाइन्छ । गोरु नभएको अवस्थामा मानिसले नै काठ घुमाउने गर्छन् । फलामे कोलको बीचमा उखु राखेर घुमाउँदा रस निस्कने गर्दछ । कोल चलाउन दुईदेखि तीन जनाको जनशक्ति आवश्यक पर्छ ।
कोलमा पेल्दा बढी रस निस्कने र शुद्ध तथा स्वास्थ्यकर हुने उपभोक्ता राजाराम उपाध्यायले बताए । कोलबाट निकालिएको उखुको रस पकाएर खुदो बनाइन्छ । विवाह, व्रतबन्ध, लड्डु र कसार बनाउन खुदो अनिवार्य मानिन्छ । देवीदेवतालाई प्रसादका रूपमा खुदो चढाउने परम्परा पनि अझै कायम रहेको मङ्गला गाउँपालिका–२ सिमलचौरकी रूपा जिसीले बताए ।
परम्परागत कोलमा उखु पेल्ने यो चलनले स्थानीय संस्कृति, कृषि परम्परा र सामुदायिक जीवनशैलीलाई आज पनि जीवित राखेको स्थानीयहरूको भनाइ छ ।



