म्याग्दी – म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा अवस्थित प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र कालाञ्जर–हम्पालको जलजला क्षेत्रमा ताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ। अन्नपूर्ण गाउँपालिका (म्याग्दी), जलजला गाउँपालिका र मोदी गाउँपालिका (पर्वत) तथा अन्नपूर्ण गाउँपालिका (कास्की) सम्म फैलिएको जलजला क्षेत्रलाई दीर्घकालीन रूपमा आकर्षक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले अध्ययन थालिएको हो ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार समुद्र सतहबाट ३,२०० मिटर उचाइमा रहेको खुला घाँसे मैदान, पहाडी भू–आकृति तथा सांस्कृतिक महत्वका कारण यहाँ ताल निर्माण गर्ने तयारी अघि बढाइएको हो। चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्भाव्यता अध्ययनका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष आचार्य सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा प्राविधिक टोलीले गत हप्ता ताल निर्माणस्थलको स्थलगत निरीक्षण गरेको थियो । टोलीले भूगोल, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा सम्भावित दीर्घकालीन प्रभावको प्रत्यक्ष मूल्यांकन गरेको उपाध्यक्ष आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रारम्भिक अध्ययनले ताल निर्माणका लागि क्षेत्र उपयुक्त रहेको निष्कर्ष निकालेको छ । जलस्रोत व्यवस्थापन, संरचनागत सुरक्षा र दीर्घकालीन संरक्षणका उपायबारे विस्तृत छलफल पनि भएको छ । ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल तथा जलजला क्षेत्र महत्वपूर्ण धार्मिक स्थल मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने आयोजना कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा तीन जिल्लाका रमणीय भू–दृश्य अवलोकन गर्न सकिन्छ । कालीगण्डकी क्षेत्रका धार्मिक एवं सांस्कृतिक अध्ययनकर्ता प्रा. डा. जगन्नाथ रेग्मीका अनुसार अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिव, पद्म, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतजस्ता धर्मग्रन्थमा हम्पाल–कालाञ्जर क्षेत्रको उल्लेख पाइन्छ । यहाँ ऋषिमुनिले तपस्या गर्ने, जडीबुटी प्रयोग गर्ने र पितृका लागि पिण्डदान गर्दा सद्गति प्राप्त हुने वर्णन गरिन्छ ।
जैविक विविधताले समृद्ध जलजला क्षेत्रमा बोझो, चिराइतो, ब्राह्मी, जेठीमधु, जटामसी, पाषाणभेद, टिमुरलगायत बहुमूल्य जडीबुटी पाइन्छन् । मृग, डाँफे, मुनाल, कालिज, गिद्ध, च्याखुरा, हुकेचरा, दुम्सी तथा लाटोकोसेरो सहितका वन्यजन्तु र पक्षी अवलोकन गर्न सकिन्छ ।
जलजला क्षेत्रलाई म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकाबाट पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट तथा शालिजादेखि जलजलासम्म कच्ची सडक पुगेको छ, जसले आगामी दिनमा पर्यटन प्रवद्धनमा थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।



