काठमाडौं – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेसँगै सवारी आवतजावत सहज बनेको छ र यात्राको समय उल्लेख्य रूपमा छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको योजना कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) अन्तर्गत यो सडक दुई लेनको ११ मिटर चौडाइमा विस्तार गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गर्न थालिएको हो ।
करिब १३ किलोमिटर लामो सडकमध्ये दुई किलोमिटर बाहेक सबै भागमा कालोपत्र र ढलानको काम सम्पन्न भइसकेको सडक योजना कार्यालयले जनाएको छ । यातायात व्यवसायी रेशबहादुर विश्वकर्माका अनुसार पहिले एक घण्टा लाग्ने यात्रा अहिले २० देखि २५ मिनेटमै पूरा हुने भएको छ। लामो समयदेखि बेनीदेखि मालढुङ्गा जोड्न रत्नेचौर–बागलुङ हुँदै घुमाउरो वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने बाध्यता पनि हटेको छ।
जलजला गाउँपालिका–७ मिलनचोकका बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोका कारण हुने जोखिम र दुःख अन्त्य भएको बताए। अब बाँकी खण्ड पनि छिट्टै सम्पन्न हुने र यसपछि सार्वजनिक यातायात तथा ढुवानी भाडादर पनि समायोजन हुने अपेक्षा गरिएको छ। यो सडक म्याग्दी, मुस्ताङ, पर्वतका स्थानीयवासी मात्र होइन, पर्यटक र तीर्थयात्रीका लागि समेत महत्वपूर्ण छ ।
यसअघि ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत २०५२ सालमा खुलेको यो सडक विसं २०६८ मा एकतर्फी कालोपत्र गरिएको थियो। पछि मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिएपछि सवारी चाप बढ्दा साँघुरो सडक जीर्ण अवस्थामा पुगेको थियो ।
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म दुई लेनमा कालोपत्र गर्न विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का पाएको थियो। कोरोना महामारी, बाढीपहिरो र निर्माण सामग्रीको अभावका कारण काम ढिलो भएको तथा सहायक ठेकेदारले बीचमै छाडेपछि आयोजना केही समय अलपत्र परेको थियो। तर एक वर्षअघि मुख्य ठेकेदार पुनः सक्रिय भएर कामलाई तीव्रता दिएको हो।
गत वर्ष मालढुङ्गा–फर्से खण्डमा ३.३ किलोमिटर कालोपत्र र २.२ किलोमिटर ढलान भएको थियो भने लस्ती–बेनी खण्डको ६.५ किलोमिटर सडक यसै मङ्सिरदेखि कालोपत्र गरिएको हो। संरचना निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै सम्पूर्ण खण्ड कालोपत्र हुने निर्माण पक्षको भनाइ छ ।
वारीबेनी क्षेत्रको ७६० मिटर तथा केराबारी र फर्से पहिरो क्षेत्रमा एक÷एक सय मिटर सडक भने बस्तीको सहमति नहुँदा र पहिरोको जोखिमका कारण ठेक्काबाट हटाइएको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।
सडक स्तरोन्नतिपछि म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाको पहुँच मात्र होइन, व्यापार, पर्यटन र आवागमनमा थप सहजता आउने विश्वास गरिएको छ।



