विकटको सुगम मातृ स्वास्थ्य सेवा : सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

कालीकोट — भौगोलिक रूपमा विकट रहे पनि सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित मुम्रा गाउँले मातृ स्वास्थ्य सेवा र पूर्वाधारमा नयाँ उदाहरण प्रस्तुत गरेको छ । विगत पाँच वर्षयता यहाँका गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन भने दुईवर्षयता हवाई उद्धारसमेत गर्नुपरेको छैन ।

गाउँपालिकाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविकाको सहयोगमा घर–घर मातृ स्वास्थ्य सेवा पु¥याउने व्यवस्था गरेको छ। हाल गाउँभित्र पाँचवटा बर्थिङ सेन्टर सञ्चालनमा छन्, जहाँ पुग्न कम्तीमा एक घण्टा पैदल हिँड्नुपर्ने मात्र छ। आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको चुस्त व्यवस्थापन गरिएको छ ।

गाउँका ३२ वर्षीय रचनाकुमारी बुढाले बताइन्, “मेरा तीनवटै सन्तान मुम्रा स्वास्थ्य चौकीमा जन्मेका हुन्। सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकिएर जान सकिन्छ र स्वास्थ्यकर्मीको व्यवहार राम्रो छ ।”

नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाले स्वीस र ब्रिटिश रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ मार्फत बर्थिङ सेन्टरका अत्यावश्यक सामग्री, शौचालय र ‘एक घर एक धारा’ खानेपानी योजना सञ्चालनमा सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीका अनुसार करिब १७ हजार जनसङ्ख्यामा हालसम्म दुई हजारभन्दा बढी धारा जडान भइसकेका छन्। परियोजनाले विद्यालयका खुला चौर घेरबार, छात्राका लागि स्यानिटरी प्याड र स्वास्थ्य–सफाइ अभियानमा पनि सहयोग गरेको छ ।

अध्यक्ष केसीले बताएअनुसार, “समुदायका लागि आवश्यक स–साना सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ । यसका लागि प्रमुख सहयोगी स्वीस र ब्रिटिश रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।”

यसरी मुम्रा गाउँले विकट भौगोलिक अवस्थाप्रति चुनौती हुँदाहुँदै पनि मातृ स्वास्थ्य, सरसफाइ र पूर्वाधारमा उदाहरणीय काम गर्दै सम्पूर्ण पालिकाका लागि मोडल प्रस्तुत गरेको छ।