खोटाङ – खोटाङमा चालु आर्थिक वर्ष २०८२\८३ का लागि स्वीकृत भएका विकास आयोजनामध्ये ११२ वटा आयोजनाको ठेक्का आह्वान गरिएको छ । कोशी प्रदेश सरकारबाट स्वीकृत रु ६६ करोड बराबरका ती आयोजनाका लागि ठेक्का प्रक्रिया अघि बढाइएको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार ठेक्का आह्वान भइसकेका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत सुरु भइसकेको छ । उनले जग्गाको स्वामित्व समस्या तथा स्थानीय विवादका कारण केही आयोजना भने ठेक्का आह्वान हुन बाँकी रहेको बताए । “ती आयोजना पनि छिट्टै ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाउने तयारीमा छौँ,” उनले भने ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस आर्थिक वर्षका लागि प्रदेश सरकारबाट रु एक अर्बभन्दा बढीका १६४ आयोजना स्वीकृत भएका छन् । ती आयोजनामा सडक कालोपत्र तथा स्तरोन्नति, मोटरेबल पक्की पुल र झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायतका पूर्वाधार विकासका योजना समावेश छन् ।
कार्यालयका अनुसार बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्ने २४ आयोजना छन् भने १० वटा बहुवर्षीय आयोजना चालु अवस्थामा रहेका छन् । ठेक्का आह्वान गरिएका कतिपय आयोजनामा निर्माण कम्पनीसँग सम्झौता भई निर्माण प्रक्रिया सुरु भइसकेको छ ।
पूर्वाधार कार्यालयले समयमै ठेक्का आह्वान गरेपछि निर्माण व्यवसायीहरू उत्साहित भएका छन् । गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ आयोजनाको ठेक्का आह्वान भएपछि सम्झौता गर्न निर्माण कम्पनीहरू भ्याइनभ्याई गरिरहेका छन् ।
यस वर्ष खोटाङमा अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट विनियोजन भएको दाबी गरिएको छ । कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य भूपेन्द्र राईले सम्हालेपछि करिब रु एक अर्बभन्दा बढीका १६४ आयोजनामा एकैपटक बजेट विनियोजन भएको हो ।
स्वास्थ्यमन्त्रीसमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गरेपछि खोटाङवासी खुसी भएका छन् । सामाजिक सञ्जालमार्फत जिल्लामा आएका बजेट तथा आयोजनालाई पारदर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सुझावसमेत दिइरहेका छन् ।
प्रदेश सरकारको रातो किताबअनुसार जिल्लामा स्वीकृत आयोजनामध्ये सबैभन्दा बढी बजेट रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि रु १० करोड विनियोजन गरिएको छ ।



