गलुवा र कालाखोला पहिरोको विकल्पमा कालीगण्डकीमाथि पक्की पुल निर्माण सुरु

बागलुङ –  कालीगण्डकी करिडोरमा चार वर्षदेखि निरन्तर पहिरो खस्दै अवरुद्ध हुँदै आएको सडक समस्याको दीर्घकालीन समाधानका रूपमा बागलुङको दक्षिण भेगलाई जोड्ने मोटरेबल पुल निर्माण कार्य सुरु गरिएको छ । बर्खामा सडक ठप्प हुने अवस्था दोहोरिएपछि पहिरोको विकल्पमा कालीगण्डकी नदीमाथि पक्की पुल बनाउन थालिएको हो ।

बागलुङ नगरपालिका–१० स्थित गलुवाको दब्ल्याङ क्षेत्रमा विसं २०७८ देखि ठूलो पहिरो खस्न थालेको छ । त्यस्तै नगरपालिकाको १३ नम्बर वडाको कालाखोला बगरमा गत वर्षबाट सडकको ट्रयाक बगाएपछि करिडोर नियमितरूपमा अवरुद्ध हुँदै आएको थियो । यसले दक्षिण बागलुङ हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रुलाई वर्षेनि ठूलो सास्ती खेप्ने अवस्था सिर्जना हुँदै आएको थियो ।

रु १७ करोडमा मोटरेबल पुल बनाउन ठेक्का

गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग कालीगण्डकी नदीमाथि मोटरेबल पुल बनाउन रु १७ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।

पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्नेगरी निर्माण हुन लागिएको यो पुल लम्बाइ  १०० मिटर, चौडाइ  ११ मिटर रहेको छ । उक्त पुलको निर्माण अवधि  ३ वर्ष रहेको छ ।

निर्देशनालयका सब–इन्जिनियर विजय सुवेदीका अनुसार अहिले ठेकेदार कम्पनीले पुल निर्माण स्थलमा दुवै किनारबाट २० मिटर तलको माटो निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि पिल्लर निर्माणसहित मुख्य काम सुरु हुनेछ।

करिडोर अवरुद्ध, विमानस्थल–मालढुङ्गा खण्डमै सबैभन्दा बढी असर

गत वर्ष कालाखोलामा खसेको भीषण पहिरो र गलुवामा वर्षेनि खस्ने पहिरोका कारण कालीगण्डकी करिडोरको बलेवा विमानस्थलदेखि मालढुङ्गा खण्डसम्म यात्रा अत्यन्त जोखिमपूर्ण र अवरुद्ध हुँदै आएको छ ।

करिडोर कालोपत्र गर्ने तयारी भए पनि पहिरोका कारण पूर्वाधार निर्माण अघि बढ्न सकेको छैन ।

पुल निर्माणले यातायात सहज, वैकल्पिक मार्ग मजबूत

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री तथा बागलुङ क्षेत्रका प्रतिनिधि कृष्ण पाठकका अनुसार वर्षेदेखि निरन्तर पहिरोमा परेको करिडोरलाई विकल्पका रूपमा पुल निर्माण अघि बढाइएको हो ।

“पुल बनेपछि दक्षिण बागलुङबाट गुल्मी, पाल्पा हुँदै बुटवल यात्रु सबैले सहज यातायात सुविधा पाउँछन्,” मन्त्री पाठकले बताए ।

यस पुललाई मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जोड्ने महत्वपूर्ण संयोग बिन्दुका रूपमा लिइएको छ ।

पहिरोको जोखिम हटाउँदै दीर्घकालीन समाधानतर्फ

पटक–पटक पहिरोले करिडोर अवरुद्ध हुँदा बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा ठप्प हुने समस्या बढ्दै आएको थियो । स्थानीयको निरन्तर दबाब, जनप्रतिनिधिको पहल र भू–जोखिमा आधारित वैकल्पिक संरचनाको आवश्यकता देखिएपछि नदीमाथि मोटरेबल पुल निर्माणलाई प्राथमिकता दिइएको हो ।