काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ ।
सहरी व्यवस्थापन विभागका प्रमुख सीनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछानेका अनुसार साउन महिनामा २७०, भदौमा १७४ र असोजमा २८८ वटा भवन नक्सा सम्बन्धी काम सम्पन्न भएका छन् ।
महानगरका अनुसार तीन महिनाको अवधिमा २३८ वटा भवनले प्लिन्थ लेभलसम्मको इजाजत, ७ वटाले तला थप अनुमति, ३९९ वटाले निर्माण सम्पन्न प्रमाणपत्र, ४ वटाले डीपीसी ट्रान्सफर र ८४ वटाले स्वामित्व हस्तान्तरण पाएका छन् ।
गएको आर्थिक वर्ष २०८१÷८२ मा महानगरपालिकाले ३ हजार ७६८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्ग्याएको थियो । उक्त अवधिमा १ हजार २७२ वटा भवनले प्लिन्थ लेभलसम्मको इजाजत, ५१ वटाले तला थप अनुमति, र २ हजार २८२ वटाले निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी, उक्त आर्थिक वर्षमा १४३ वटा स्वामित्व नामसारी, २ वटा डीपीसीसम्मको नामसारी र १८ वटा डीपीसी नामसारी प्रमाणपत्र जारी गरिएको थियो ।
महानगरका अनुसार सबै प्रक्रिया अनलाइन प्रणाली ‘इबीपीएस’ मार्फत सञ्चालन हुँदै आएको छ । यस प्रणालीबाट भवन नक्सा स्वीकृति, निर्माण सम्पन्न प्रमाणपत्र, नामसारी प्रक्रिया र राजस्व भुक्तानी सबै कार्य डिजिटल रूपमा सम्पन्न गर्न सकिन्छ ।
५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा अर्थात् डीपीसीसम्मको स्वीकृति सम्बन्धित वडा कार्यालयबाटै दिने व्यवस्था गरिएको छ । त्यसभन्दा माथि क्षेत्रफल भएका भवनका लागि स्वीकृति केन्द्रबाट दिइन्छ — जसअनुसार, ५ हजारदेखि ७ हजार वर्गफुटसम्मको नक्सा महाशाखा प्रमुखबाट, ७ हजारदेखि ३० हजार वर्गफुटसम्मको विभागीय प्रमुखबाट र १० हजार वर्गफुटभन्दा माथिको भवनको नक्सा प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम स्वीकृत गरिन्छ ।
महानगरले यो प्रणाली २०७० भाद्र १६ गतेदेखि ७ वटावडामा परीक्षण रूपमा सुरु गरेको थियो । २०७१ भदौ १६ गते थप ७ वडामा विस्तार गरेपछि, २०७३ साउन ३१ गतेदेखि सबै वडामा सेवा विस्तार गरिएको हो ।
लामिछानेका अनुसार महानगरको भवन नक्सा प्रक्रिया क्रमशः तीव्र गतिमा अघि बढ्दै गएको छ र अनलाइन प्रणालीले पारदर्शिता र कार्यदक्षता बढाएको छ ।



