म्याग्दी — म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नति योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको हो ।
आर्थिक वर्ष २०८०/०८१ देखि पखेर–बरङ्जा ३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजनाअन्तर्गत पखेरदेखि तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलानको काम भइरहेको छ । एनके–युनाइटेड जेभीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको यस योजनाको हाल ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले जानकारी दिए ।
उहाँका अनुसार १८ महिनाको ठेक्का अवधिभित्रै योजना सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर र निर्माण सामग्री व्यवस्थापन गरिएको छ । “म्याग्दीमा आर्थिक वर्ष २०८०÷०८१ देखि सुरु भएका सात सडक र दुई मोटरेबल पुलमध्ये पखेर–बरङ्जा सडकको प्रगति सबैभन्दा अगाडि छ,” उनले भने,
विसं २०६६ मा मार्ग खुलेको यस सडकलाई सात मिटर फराकिलो बनाउँदै नाली र टेवा पर्खाल निर्माण गरिएको छ । घुम्ती र उकालो खण्डमा ५५० मिटर सडक ढलान भइसकेको छ भने ग्राभेल गरिएको सडकमा बर्खाले भत्काएका संरचना पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडकको ग्रेड र घुम्ती सुधार गरिएको छ ।
खर्कटोलका बासिन्दा मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलब पाँच मिटर फराकिलो कच्ची सडक जोखिमयुक्त थियो । “पहिले जिप, ट्याक्सी र ट्याक्टर चलाउनै मुस्किल थियो, अहिले दश चक्के ट्रकसमेत गाउँसम्म आउन थालेका छन्,” उनले भने, । सडक स्तरोन्नतिपछि बरङ्जादेखि बेनी पुग्न लाग्ने समय एक घण्टाबाट घटेर करिब ३० मिनेटमा सीमित भएको छ ।
सडक सहज भएपछि बरङ्जामा उत्पादन हुने दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा पु¥याउन सजिलो भएको छ । भिरालो पाखाका घुम्तीमा गाडी पछाडि सार्नुपर्ने समस्या हटेको स्थानीयले बताएका छन् ।
मार्ग खुलेको १७ वर्षपछि सडक स्तरोन्नति भएकोमा बरङ्जाबासी उत्साहित भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताए । उनले पखेरदेखि झाक्रीपानीसम्मको ११ किलोमिटर सडक पूरै स्तरोन्नति गर्न सके झनै सहज हुने उल्लेख गरे ।
सडक निर्माणको अनुगमनका क्रममा म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसमक्ष स्थानीयले ग्राभेल सडकलाई पक्की बनाउन तथा झाक्रीपानी, बुकेनी, धापुङ हुँदै ताराखोलातर्फ स्तरोन्नति योजना अघि बढाउन आग्रह गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहनुभएका जुग्जालीका अनुसार विसं २०८० मा प्रदेश सरकारबाट रु १० करोड बजेट सुनिश्चित गरी बहुवर्षीय ठेक्का लगाइएको हो । चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट विनियोजन भएको र आवश्यक थप बजेट व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए । मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक योजनालाई निरन्तरता दिने प्रयास जारी रहेको उनको भनाइ छ ।



