मतदान केन्द्रबाट देखिएको अपेक्षा र आशंका : स्थिरता खोज्दै मतदाता

काठमाडौँ, – देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएपछि राजधानीका मतदान केन्द्रहरूमा मतदाताको उत्साह देखिए पनि उनीहरूका अपेक्षा र चिन्ता मिश्रित देखिएका छन् ।

“यो चुनाव सफल हुनुपर्छ र देशले निकास पाउनुपर्छ,” काठमाडौँको अनामनगर निवासी ७५ वर्षीय वासुदेव गिरीले मतदानपछि व्यक्त गर्नुभएको भावना अहिले धेरै मतदाताको साझा मनोभाव जस्तै देखिन्छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत साविक मिलन विद्यामन्दिर मतदान केन्द्रमा श्रीमतीसँगै मतदान गरेर बाहिरिनुभएका गिरीले देशले शान्ति, सुशासन र समृद्धिको स्पष्ट दिशा खोजिरहेको बताउनुभयो ।

“पञ्चायतकालदेखि नै यहाँ मतदान गर्दै आएको छु,” उहाँले भन्नुभयो, “देश विकासको यात्रामा अघि बढे पनि राजनीतिक अस्थिरता भने बढ्दै गएको देखिन्छ । अबको निर्वाचनले स्थिरता ल्याओस् भन्ने आशा छ ।”

दशकौँको अनुभवबाट हेर्दा चुनाव

नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष समेत रहेका गिरीले २०४३ सालतिरको निर्वाचन सम्झँदै भन्नुभयो—त्यतिबेला काठमाडौँमा जम्मा दुई निर्वाचन क्षेत्र मात्र थिए । अहिले भने राजधानीमा १० निर्वाचन क्षेत्र छन् ।

“त्यतिबेला दलभन्दा पनि स्वतन्त्र उम्मेदवारहरू चुनाव लड्थे,” उनले स्मरण गरे “वीरेन्द्र श्रेष्ठ र पद्मरत्न तुलाधर विजयी भएको अहिले पनि सम्झना छ ।”

समयसँगै जनसङ्ख्या बढेको, राजनीतिक प्रतिस्पर्धा फराकिलो बनेको र निर्वाचनको स्वरूप पनि परिवर्तन भएको उनको अनुभव छ ।

मतदातामा आशा र अन्योल

मतदान केन्द्रमै भेटिएका राजनीतिक विश्लेषक तथा पूर्वप्राध्यापक सुरेन्द्र केसीले भने निर्वाचनलाई मतदाताले आशा र अन्योल दुवै भावनासहित हेरेको बताए ।

“प्रचारमा जस्तो ठूलो भीड मतदान केन्द्रमा देखिएन,” उनले भने, “मुलुक अहिले बाध्यात्मक अवस्थामा चुनावतर्फ गएको छ । स्थिरता, सुशासन र रोजगारीका समस्या जटिल छन् । त्यसैले निर्वाचनले ती समस्यालाई सम्बोधन गर्ने नतिजा दिन्छ कि दिन्न भन्ने प्रश्न अझै बाँकी छ ।”

डा केसीका अनुसार पछिल्ला वर्षमा युवा पुस्तामा देखिएको असन्तुष्टि र परिवर्तनको चाहनाले राजनीतिक प्रणालीप्रति चुनौती पनि सिर्जना गरेको छ । तर अन्ततः लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर मतदाताले आफ्नो निर्णय दिने प्रयास गरिरहेका छन् ।

मतदान केन्द्रमा व्यवस्थापन

मतदान केन्द्रमा खटिएका कर्मचारीका अनुसार मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । अनामनगरस्थित उक्त केन्द्रका मतदान अधिकृत रमेश भट्टराईले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अशक्तलाई प्राथमिकतासहित मतदानको व्यवस्था गरिएको जानकारी दिए ।

“उनीहरूलाई लामो लाइन बस्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ,” उनले भने,“यसले मतदान प्रक्रियालाई थप सहज बनाएको छ ।”

काठमाडौँमा साँझदेखि मतगणनाको तयारी

राजधानीका अधिकांश मतदान केन्द्रमा दिउँसोसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार दिउँसो साढे तीन बजेसम्म उत्साहजनक मतदान भएको थियो ।

उनका अनुसार काठमाडौँ महानगरपालिकाका वडाभन्दा बुढानीलकण्ठ नगरपालिकाका मतदान केन्द्रमा केही बढी सहभागिता देखिएको छ । बुढानीलकण्ठस्थित जय भद्रकाली मतदानस्थलमा दिउँसोसम्म करिब ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए ।

परिणामको प्रतीक्षा

निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरी सर्वदलीय सहमतिमा मतगणना सुरु गरिनेछ । राजधानीका धेरै स्थानमा आज रातिदेखि नै मतगणना सुरु हुने तयारी गरिएको छ ।

दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत ल्याइनेछ भने अन्य स्थानबाट सवारी साधनमार्फत सङ्कलन गरिने आयोगले जनाएको छ ।

आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रारम्भिक परिणाम आउने गरी तयारी गरेको बताएको छ ।

मतदाताको मुख्य सन्देश

मतदान केन्द्रबाट बाहिरिने अधिकांश मतदाताको एउटै अपेक्षा सुनिन्छ—राजनीतिक स्थिरता र प्रभावकारी शासन ।

चुनावी प्रतिस्पर्धा कडा भए पनि मतदाताले दिएको सन्देश स्पष्ट देखिन्छ ः निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, मुलुकलाई स्थिरता र विकासतर्फ अघि बढाउने अवसर पनि हो ।

अब त्यो अपेक्षालाई नयाँ प्रतिनिधिहरूले कत्तिको सम्बोधन गर्छन् भन्ने प्रश्न भने परिणामपछि मात्रै स्पष्ट हुनेछ ।