काठमाडौं – टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ ।
स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु र स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य यस प्रदर्शनीको रहेको छ । प्रदर्शनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चामल, सुन्तला, किवी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत पहिचानयुक्त उत्पादनहरू राखिएको उनले जानकारी दिए ।
स्थानीय कृषकलाई प्रत्यक्ष बजारसँग जोड्ने र टिकाउ उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस प्रदर्शनीले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय यस्ता उत्पादनको माग बढ्दै गएकाले गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनमार्फत गाउँपालिकालाई कृषिमा आधारित समृद्धितर्फ अघि बढाउन सकिने सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ ।



