काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस

काभ्रेपलाञ्चोक – गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु गरिएको उक्त सेवामार्फत पाँच महिनाको अवधिमा जिल्लामा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् ।

जिल्लाका सबै १३५ वडाबाट एकसाथ अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरिएको हो । नागरिकताका लागि वडाले आवश्यक कागजात स्क्यान गरी अनलाइन प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीलाई सहजता भएको छ । वडाबाट सिफारिस भएपछि सेवाग्राहीले सोही कागजातसहित जिल्ला प्रशासन कार्यालय पुगेर द्रुतगतिमा नागरिकता सेवा लिने गरेका छन् ।

वडाले अपलोड गरेको फाइल कोडका आधारमा विवरण इन्ट्री गरेलगत्तै नागरिकता प्रिन्ट हुने व्यवस्था छ । सनाखत गर्ने व्यक्तिको पूर्ण विवरणसमेत अनलाइनमै सुरक्षित रहने भएकाले प्रक्रिया छिटो र विश्वसनीय बनेको कार्यालयले जनाएको छ । साथै, जिल्ला प्रशासन कार्यालयले कागजात पुनः स्क्यान गरी डिजिटल अभिलेख सुरक्षित राख्ने गरेको छ ।

अनलाइन सिफारिस प्रणाली लागू भएपछि एउटै काम पटक–पटक गर्नुपर्ने झन्झट हट्नुका साथै विवरणमा एकरूपता आएको छ । झुटा विवरण पेस गरी नागरिकता लिन खोज्नेहरूका लागि भने यो प्रणाली निकै कडा बनेको कार्यालयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन प्रणालीले अभिलेख सुरक्षित हुनुका साथै त्रुटि न्यून भएको छ । “समयको बचत भएको छ, सेवामा द्रुतता आएको छ र नागरिकको विश्वास बढेको छ,” उनले भने, ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकलाई झन्झटरहित सेवा दिने उद्देश्यले अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको बताए । उनका अनुसार कागजात नपुगेका कारण नागरिकता नबन्ने समस्या धेरै हदसम्म समाधान भएको छ । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले नागरिकता सिफारिसका लागि अनलाइन सेवा अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिए ।

यसैबीच चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा छ महिनाको अवधिमा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नगरपालिकाबाट र सबैभन्दा कम खानीखोला गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतबाट ३५५ नागरिकता बनेकोमा अनलाइन सेवाबाट ३२३ वटा नागरिकता जारी भएका छन् ।

नयाँ नागरिकताभन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस अवधिमा पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । साथै, २५ जनाले नागरिकता परित्याग गरेका छन् भने १८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । चार जनाको नागरिकता रद्द गरिएको कार्यालयले जनाएको छ ।