काठमाडौँ – काठमाडौँ महानगरपालिकाले माघ २७ गतेदेखि महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइनेछ। यस्तै, गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप प्रदान गरिने महानगरले जनाएको छ ।
कार्यवाहक प्रमुख डंगोलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप, स्क्रिनिङ र उपचारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै तीनवटै चरणमा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको योजना सफल बनाउन सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरिन् ।
कार्यक्रमअनुसार १० देखि १४ वर्षका किशोरीले एचपीभी खोप लगाउनु पहिलो चरण, ३० वर्षभन्दा माथिका महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउनु दोस्रो चरण र रोग पहिचान भएकाले उपचार गराउनु तेस्रो चरण हो ।
स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले निःशुल्क खोपबारे फैलिएका भ्रम हटाउनुपर्ने बताउँदै सरकारले उपलब्ध गराएको खोप सुरक्षित र सेवामूलक कार्यक्रम भएको स्पष्ट पारे ।
महानगरले ३० जना छात्रा भएका विद्यालयमा एक खोप केन्द्र राख्ने र कम विद्यार्थी भएका स्थानमा संयुक्त केन्द्र सञ्चालन गर्ने जनाएको छ । स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.का अनुसार लक्षित समूह समेट्न जनप्रतिनिधि, स्वास्थ्य प्रवर्धन केन्द्र र स्वयंसेवकको सहकार्यमा सूक्ष्म योजना तयार गरिएको छ ।
परिवार कल्याण महाशाखाका डा. अभियान गौतमका अनुसार एचपीभी खोप विश्व स्वास्थ्य संगठनबाट सिफारिस गरिएको, नेपालमा दर्ता भएको र पूर्ण रूपमा सुरक्षित खोप हो ।
गत वर्ष महानगरपालिकाले ३९ हजार ३१३ छात्रालाई एचपीभी खोप दिएको थियो। नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने र दैनिक करिब चार जनाको मृत्यु हुने तथ्याङ्क छ।



