परिवर्तन र न्यायका लागि दलित महिला पत्रकारहरूको साइकल यात्रा

  • धर्म सुनार

काठमाडौं, वैशाख १८ गते । दलित महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको बाह्र दिन बित्यो । यात्राका लागि टोलीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट शुभारम्भ गरेको थियो । तराईको गर्मी र टन्टलापुर घामको प्रवाह नगरी र कहिले वैशाखे झरीमा झिज्दै मधेश प्रदेश आइपुगेका छन् ।

वैशाख ६ गते कञ्चनपुरबाट सुरु भएको साइकल यात्रा सुदूरको कैलाली हुँदै लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ, कपिलवस्तु, भैरहवाको बुटवल, बागमती प्रदेशको चितवन, हेटौँडा हुँदै आज १२ औँ दिनमा टोली मधेश प्रदेशको बाराको निजगढ पुगेका हुन् । साइकल यात्रा अव नितरन्तर केही दिन पूर्वका जिल्लातिर पुग्ने छ ।

पत्रकार रिता बुढाथोकीको नेतृत्वमा दुई दलित महिला पत्रकार ईन्दिरा बिश्वकर्मा र संगीता नेपालीसहितको टोली सामाजिक रूपान्तरणका लागि भन्दै साइकल यात्राको पाईला निरन्तर चलिरहेको छ । नेपालमा भएका जातीय तथा सबै प्रकारका विभेद अन्त्यसँगै दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि सम्बन्धित निकायलाई ध्यान केन्द्रित गर्न सो यात्रा सुरु गरेको थियो ।

जातीय छुवाछुत अमानवीय र कानुनी अपराध पनि हो । छुवाछुत मानसिकताबाटै हटाउनु पर्छ भन्ने उद्देश्यका साथ यात्रा सुरु गरिएको पत्रकार बुढाथोकीले बताउनुभयो ।

पालिका न्यूजले पत्रकार रिता बुढाथोकीलाई फोन गरेर तपाईको यात्रा कस्तो रहयो ? भनेर सोधेका थियो । जनप्रतिनिधिको सहयोग, यात्रा गर्दा के कस्ता समस्या र चुनौती भोग्नु पर्दो रहेछ भनेर जानकारी लिने कोसिस गरेका थियौँ ।

यात्राको क्रममा रमाइलो गर्दै प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी, महिला र अधिकारकर्मीबाट राम्रो सहयोग पाएको खुसी व्यक्त गर्नुभयो । त्यतिमात्र होईन बाटोमा स्थानीयले हामीलाई पानी र खाजाकोसमेत व्यवस्था गरेको बताउनुभयो । स्थानीय तह र संघ सस्थाबाट आर्थिक सहयोग पनि उपलब्ध भएको बताउनुभयो ।

पत्रकार बुढाथोकीले यात्रागर्दा धेरै चुनौतीको सामना गर्नुपरेकोसमेत बताउनभुयो । तराईको बाटो दैनिक ५०–६० किलोमिटरको यात्रामा घाम, पानी र सडकले दुख दिएको उहाँले भन्नुभयो, । कहिँकतै सडक विग्रीएका कारणले सडकले समस्या दिएको थियो ।
पत्रकार बुढाथोकीले चेतनामूलक सन्देश प्रवाहका लागि साइकल यात्रा तय गरेको बताए । साहसी काम मानिने साइकल यात्रासहित महिलाहरूले चेतना फैलाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यात्रा थालिएको बताइएको छ ।