हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड

बाँके — हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यसहित बाँकेमा बिरुवा उत्पादन तथा वितरणलाई तीव्रता दिइएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहेको बाँके अहिले निजी खेतबारी र सार्वजनिक स्थानमा रुख रोपेर हरियाली विस्तार गर्ने दिशातर्फ उन्मुख हुँदै गएको छ ।

डिभिजन वन कार्यालय, बाँकेका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार जिल्लामा हजारौँ बिरुवा उत्पादन र वितरण हुँदा जमिन हरियाली बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको थियो भने सोही अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो । ती बिरुवा किसानका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक स्थानमा रोपिएका छन् ।

“बिरुवा वितरणको उद्देश्य केवल हरियाली बढाउनु मात्र होइन, स्थानीयस्तरमै काठ र दाउराको आवश्यकता पूर्ति गर्दै किसानको आयआर्जन बढाउनु पनि हो,” वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।

बाँकेका केही स्थानीय तहमा वनक्षेत्र न्यून वा शून्य भएकाले पछिल्ला वर्षहरूमा किसान आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित भएका छन् । “खेतको कान्ला, खाली जमिन र घरआँगनमा लगाइएका रुख अहिले किसानको दैनिकीको महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन्,” उनले भने, ।

छिटो आम्दानी दिने प्रजातितर्फ किसानको आकर्षण

किसान निजी खेतमा रुख रोप्न आकर्षित हुनुको कारण वातावरणीय चिन्तासँगै आर्थिक प्रतिफल पनि हो । छिटो बढ्ने र बजारमा माग हुने प्रजातिबाट कम समयमा नै आम्दानी हुने भएकाले किसानको रुचि बढेको छ । विशेषगरी सागवान र युकालिप्टसजस्ता प्रजाति छिटो बढ्ने र सजिलै बिक्री हुने भएकाले किसानको पहिलो रोजाइमा परेका छन् ।

एकवर्षे प्रजातितर्फ सागवान, युकालिप्टस र खयरको माग बढी छ भने बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफूल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनजस्ता बिरुवा लोकप्रिय बन्दै गएका छन् । यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको छ ।

उद्योगसँग जोडिँदै निजी वन

नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपास भेनियर, प्लाइउड, इँटा तथा जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा रहेकाले निजी खेतमा उत्पादन हुने काठको बजार सुनिश्चित हुँदै गएको छ ।

“यी उद्योगमा काठ र दाउराको खपत बढी भएकाले निजी खेतमा उत्पादन भएको काठ कच्चा पदार्थका रूपमा प्रयोग हुँदा किसानको आम्दानी बढ्नुका साथै प्राकृतिक वनमाथिको दबाब पनि घटेको छ,” वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।

स्थानीय प्रजाति र जैविक विविधतामा पनि जोड

डिभिजन वन कार्यालयले बजारको मागसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । प्राकृतिक वन पुनस्र्थापना र स्थानीय पारिस्थितिकी सन्तुलनका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन र रोपणमा विशेष जोड दिइँदै आएको छ ।

छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य

हाल कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण भइरहेको छ । चालु आर्थिक वर्षमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसका लागि जिल्लाका आठ नर्सरीमा पोलिब्याग तयारी, ब्याड व्यवस्थापन, नर्सरी मर्मत र बिरुवाको गुणस्तर सुधारका काम तीव्र रूपमा अघि बढाइएका छन् ।

नर्सरी व्यवस्थापन र बिरुवा उत्पादनमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता बढ्दै गएको छ, जसले हरियाली विस्तारसँगै रोजगारी, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनमा पनि योगदान पुर्याइरहेको छ ।

निजी खेतबारी हरियाली बन्दै जाँदा प्राकृतिक वनमाथिको दबाब घट्ने, ग्रामीण अर्थतन्त्र बलियो हुने र वातावरणीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ।