मटिहानी नगरपालिकामा बहुक्षेत्रीय पोषण योजना कार्ययोजना गोष्ठी सम्पन्न

काठमाडौं – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको आयोजनामा आज बहुक्षेत्रीय पोषण योजना अन्तर्गत नगरस्तरीय निर्देशक समितिको बैठक तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख श्री हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगर उपप्रमुख श्रीमती मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रशेखर शर्मा, विभिन्न वडाध्यक्षहरू तथा नगरपालिकाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

गोष्ठीमा बहुक्षेत्रीय पोषण योजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा आगामी कार्ययोजनाबारे स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल र नागेश्वर पाण्डेले विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पोषणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न सरोकारवालाबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो । साथै नगर क्षेत्रमा पोषण सुधारका लागि संयुक्त प्रयासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।