पर्वत – मोदी गाउँपालिका–२ देउपुर, जसलाई सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको थियो, पछिल्ला वर्षहरूमा सुन्तलाका बोट धमाधम सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । जलवायु परिवर्तन, तापक्रम वृद्धि र रोग–कीराको तीव्र संक्रमणका कारण सुन्तला बगैँचाहरू क्रमशः नष्ट हुँदै गएको किसानहरूको गुनासो छ ।
धन, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तलामा आशा राखेका स्थानीय किसान अहिले वैकल्पिक खेतीतर्फ मोडिन बाध्य भएका छन् । उनीहरूले अहिले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदो रोप्न थालेका छन् ।
कहिले काककीजिल्लाकै सबैभन्दा बढी—करिब ५ सय बोट—सुन्तला लगाएर वर्षैभरि राम्रो आम्दानी गर्ने ७३ वर्षीय टीकाराम जैसी अहिले पूर्ण रूपमा सुन्तलाखेतीबाट विस्थापित भएका छन् । सबै बोट सुकिसकेपछि काठमाडौँमा परीक्षण गराउँदा ‘सिट्रस ग्रिनिङ रोग’ पुष्टि भएपछि उहाँले मौरीपालन र अदुवा–बेसारखेती सुरु गरेका छन् ।
त्यसैगरी सात रोपनीमा सुन्तला लगाउँदै आएकी डिलकुमारी तिमिल्सिना र दीर्घकालीन व्यावसायिक किसान दाताराम चापागाईँ पनि अब केरा, कोदो र अदुवातर्फ उन्मुख भएका छन् । चापागाईँका अनुसार, विगतमा यो गाउँबाट वार्षिक रु ५ करोडभन्दा बढीको सुन्तला बिक्री हुने गरेको थियो, तर अहिले आम्दानी घटेर मुस्किलले रु २ करोड पुग्ने अनुमान गरिएको छ ।
मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाका अनुसार देउपुर क्षेत्रका बगैँचाहरू ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ब्याक्टेरियाबाट पूर्ण रूपमा प्रभावित बनेका छन् । यसको कारण रुखका पात पहेँलो–हरियो रङ मिसिने, फल सानो र बिग्रँदै जाने, स्वाद घट्ने र बीउ असमान बन्ने जस्ता लक्षण देखिन्छन्। अन्ततः रुख नै मर्ने यो रोगको उपचार सम्भव नभएकाले सङ्क्रमित रुख तुरुन्त उखेलेर नष्ट गर्नुपर्ने उनको सुझाव छ ।
अहिले ती क्षेत्रमा अम्लीय फलफूलको उत्पादन सम्भव नरहेको कृषि शाखाको निष्कर्ष छ। त्यसैले किसानलाई केरा, कफी, कोदो, अदुवा, अम्बा र बेसार जस्ता विकल्प रोज्न सिफारिस गरिएको तिमिल्सिनाले बताइन् ।
देउपुरमा करिब १ सय ५० परिवार व्यावसायिक सुन्तलाखेतीमा निर्भर थिए। सुन्तलाका बोट क्रमशः सुक्दै जाँदा किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए ।



