गुल्मी – जिल्लामा पछिल्लो छ वर्षमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । हाल एक लाख ३१ हजार १२७ जनाले स्वास्थ्य बिमा दर्ता गराइसकेका छन्, जसमा ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन् ।
स्वास्थ्य बिमामा आबद्धता सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा छ, जहाँ २५ हजार २१२ नागरिक दर्ता भएका छन् । रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २१७, मुसिकोट ८ हजार २६१, चन्द्रकोट ६ हजार ५१७, धुर्कोट १० हजार ७३३, छत्रकोट १२ हजार ५७३, गुल्मीदरबार १० हजार ४३१, इस्मा ७ हजार ७९०, कालिगण्डकी ६ हजार ८२१, मदाने ३ हजार ९३२, मालिका ८ हजार ४५१ र सत्यवती १६ हजार १९० जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् ।
जिल्लामा स्वास्थ्य बिमा सेवा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा, रुरु र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमार्फत प्रदान भइरहेको छ ।
स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी सुवास घिमिरेका अनुसार, विगत वर्षको तुलनामा बिमा गराउनेहरूको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी कार्यक्रम अगाडि बढाउने काममा संलग्न छन् ।



