स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक

काठमाडौँ, – प्रधानमन्त्री सुशीला कार्कीले देशभर देखिएको स्वास्थ्य बिमा समस्या समाधानका लागि पहल सुरु गरेकीछन् ।

यसै सन्दर्भमा प्रधानमन्त्रीले सरोकार भएका निकायहरूसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेकीछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य बिमासम्बन्धी देखिएका समस्याको समाधानका उपायबारे छलफल गर्न बैठक आयोजना गरिएको हो ।

केही समययता देशका विभिन्न स्थानका अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाले स्वास्थ्य बिमाबापतको रकम समयमै भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाको रकम नपाउँदा नियमित सेवा प्रवाहमा गम्भीर कठिनाइ आएको जनाउँदै आएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीकृत स्वास्थ्य संस्थालाई हाल रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । भुक्तानी नहुँदा बिमाअन्तर्गतको उपचार सेवा प्रभावित बन्दै गएको भन्दै सरोकारवालाहरूले तत्काल समाधानको माग गरिरहेका छन् ।

प्रधानमन्त्रीको पहलपछि स्वास्थ्य बिमासम्बन्धी समस्या समाधानतर्फ ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।