सामुदायिक विद्यालयमा लापरबाही र गैरजिम्मेवारी अन्त्य गर्न डिजिटल हाजिरी अनिवाय गर्दै काठमाडौं महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा देखिँदै आएको लापरबाही र गैरजिम्मेवारी अन्त्य गर्न डिजिटल हाजिरी प्रणाली अनिवार्य गरेको छ । अब शिक्षक, कर्मचारी र विद्यार्थीको हाजिरी कागजमा होइन, प्रविधिको निगरानीमा हुनेछ ।

माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले सात दिनभित्र सबै विद्यालयलाई डिजिटल हाजिरीमा नजोड़े कारबाहीको संकेत गरेपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरी सबै सामुदायिक विद्यालयलाई यसमा आवद्ध गराएका हुन् । महानगरले स्पष्ट सन्देश दिएको छ— काम नगर्ने प्रवृत्तिलाई अब छुट छैन ।

प्रणाली सञ्चालनका लागि सबै विद्यालयलाई युजर नेम र पासवर्ड वितरण भइसकेको छ । जनकल्याण, टंगाल, गीतामाता, ज्ञानोदय, तरुण, रत्नराज्य, पद्मोदय, जनपथ र विश्व निकेतन माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीको डाटा इन्ट्री र फेस रिडिङ् सम्पन्न भइसकेको छ । विद्यार्थीको तथ्याङ्क प्रविष्टि र फेस रिडिङ् प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको शिक्षा विभागले जनाएको छ ।

महानगरपालिकाले यो प्रणाली बाह्य परामर्शदाता होइन, आफ्नै जनशक्तिबाट विकास गरेको छ, जसलाई प्रशासनिक सुधारको ठोस उपलब्धिका रूपमा लिइएको छ । सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपालले भने, “अब सेवाका लागि बाहिरको मुख ताक्नुपर्दैन । तथ्याङ्कमा खेलवाड गर्ने दिन सकिए।”

प्रणाली सञ्चालनका लागि विद्यालयका प्रशासनिक कर्मचारीलाई तालिम दिइएको छ । अब हाजिरी, डाटा अद्यावधिक र प्रतिवेदन विद्यालय आफैंले गर्नेछन् भने महानगरले केन्द्रीय प्रणालीबाट रियल टाइम निगरानी गर्नेछ ।

यस प्रणालीलाई सब–नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन (सुत्र) मा जोड्ने तयारी भइरहेको छ । यसपछि दिवा खाजा लगायत विद्यार्थी सङ्ख्याका आधारमा पठाइने अनुदान यथार्थ तथ्याङ्कमै आधारित हुनेछ । गलत विवरण दिएर अनुदान खाने प्रवृत्तिमा यसले पूर्णविराम लगाउने महानगरको दाबी छ ।

व्यक्तिगत प्रोफाइलमा आधारित यो प्रणालीमार्फत विद्यार्थीले आफ्नै विवरण हेर्न सक्नेछन् । आगामी चरणमा विद्यार्थी अनुपस्थित भएमा अभिभावकलाई सिधै सूचना पठाउने व्यवस्था लागू गरिनेछ ।

महानगरपालिकाको स्पष्ट अडान छ— शिक्षामा अनुशासन, पारदर्शिता र जवाफदेहिता अब विकल्प होइन, बाध्यता हो।