देशभरका ७४९ स्थानीय तहमा फोरजी सेवा विस्तार : सचिव बस्नेत

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ वटै स्थानीय तहमा फोरजी सेवाको पहुँच विस्तार भइसकेको बताएकी छन् ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै टेलिकम सञ्चालक समितिकी अध्यक्षसमेत रहेकी सचिव बस्नेतले फोरजी सेवा विस्तारसँगै डिजिटल डिभाइड न्यूनिकरणमा उल्लेखनीय प्रगति हासिल भएको बताइन् ।

उनका अनुसार नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गर्दै नेपाल टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। प्रविधिमा भइरहेको विश्वव्यापी द्रुत परिवर्तनसँगै सेवाग्राहीको माग र चाहना पनि बढ्दै गएको उनले उल्लेख गरिन्।

सचिव बस्नेतले प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ (ँत्त्ज्) सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको बताइन्।

देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा नेपाल टेलिकमले कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशन जस्ता सेवाको विकासमा थप ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको उनले बताइन्।

यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने सचिव बस्नेतले उल्लेख गरिन्। टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्ने बताउँदै उनले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पुर्‍याउन आवश्यक रहेको धारणा राखिन्।

उनले मन्त्रालयले ग्रामीण दूरसञ्चार विकास कोष, पहिचान कार्यक्रमलगायत विभिन्न माध्यमबाट आवश्यक सहजीकरण गर्दै आएको जानकारी दिँदै टेलिकममा कार्यरत कर्मचारीको वृत्तिविकास तथा अन्य माग सम्बोधन गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पारिन्।