लक्ष्यअघि सकियो बेनी–पाखापानी सडक स्तरोन्नति

म्याग्दी – जिल्लाको रणनीतिक महत्व बोकेको बेनी–पाखापानी सडकअन्तर्गत भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिना अघि सम्पन्न भएको छ । बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हुँदै तोरीपानीसम्मको करिब चार किलोमिटर सडक स्तरोन्नति भएपछि स्थानीयलाई आवतजावतमा ठूलो सहजता भएको छ ।

रु ११ करोड ७६ लाख लागतको यो योजना २०८३ जेठसम्म सक्ने लक्ष्य भए पनि माघको तेस्रो सातामै पूरा भएको निर्माण कम्पनीले जनाएको छ । सडक फराकिलो बनाउने, कालोपत्र, ढलान, ग्राभेल तथा घुम्ती सुधारका काम सम्पन्न भइसकेका छन् ।

सडक स्तरोन्नतिपछि तोरीपानीदेखि बेनी पुग्न लाग्ने समय एक घण्टाबाट घटेर करिब २० मिनेटमा सीमित भएको स्थानीयवासीले बताएका छन् । सहज यातायातका कारण अटोरिक्सा सेवा समेत सञ्चालनमा आएको छ ।

योजना सम्पन्न भए पनि बजेट अभावका कारण करिब रु एक करोड ५० लाख भुक्तानी बाँकी रहेको निर्माण पक्षले जनाएको छ । स्थानीयले भने सार्वजनिक यातायात भाडा समायोजन र पाखापानीतर्फ थप स्तरोन्नतिका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।