दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ अन्तर्गत पर्ने छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र प्रतिकूल मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । त्यसैले उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो ।
छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको गिरीले जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् ।
विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तहको निर्वाचन भने ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।
यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । उक्त मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य वर्गमा राखी सुरक्षा योजना तयार गरिएको छ ।
मतदाता विवरणअनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।



