वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर

वीरगञ्ज  – वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन मुख्यत : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर रहेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले कुल रु १ खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३७ अर्ब ८५ करोड राजस्व उठेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो। त्यसपछि यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज भन्सारको राजस्व सङ्कलन पेट्रोलियम पदार्थ तथा सवारीसाधन र तिनका पार्टपुर्जा आयातमा अत्यधिक निर्भर रहेको छ ।

त्यसैगरी चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु ६ अर्ब ८३ करोड, कपडा आयातबाट रु ५ अर्ब २६ करोड, तथा इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट रु ४ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।

मदिराजन्य पेयपदार्थको आयातबाट रु १ अर्ब ८३ करोड र शृङ्गारका सामग्रीबाट रु १ अर्ब ८१ करोड राजस्व उठेको कार्यालयले जनाएको छ ।