खाद्य कम्पनी र हुम्लाका दुई पालिकाबीच सम्झौता

काठमाडौँ, फागुन ३० गते । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाका दुई वटा गाउँपालिकासँग रैथाने बालीको सङ्कलन तथा बिक्री वितरणका लागि सम्झौता गरेको छ ।

स्थानीय तहमा उत्पादकत्व तथा क्रयशक्तिमा वृद्धि र खाद्य सुरक्षामा योगदान पु-याउने उद्देश्यले हुम्लाको सिमिकोट र अदानचुली गाउँपालिका गरी दुई स्थानीय तहसँग समझदारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

कम्पनीले यहाँ उत्पादित फापर, सिमी, चिनु, कागुनोलगायतका अग्र्यानिक खाद्यान्न बाली बजारीकरण गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रतिनिधि, कृषि कार्यालय, उद्योग वाणिज्य सङ्घ र गाउँपालिकाले मूल्य निर्धारण गरेपछि कम्पनीले बाली खरिद तथा बिक्री गर्नेछ ।

कम्पनीले सिमिकोट गाउँपालिकासँग कात्तिक ३ मा र अदानचुली गाउँपालिकासँग यही माघ २९ गते उक्त सम्भौता गरेको थियो । यहाँ उत्पादित खाद्यान्न बालीको बजारीकरणमा समस्या भएपछि कम्पनीले स्थानीय तहसँग सम्झौता गरी काम सुरु गरेको हो । कम्पनीका सूचना अधिकारी न्यौपानेले अन्य स्थानीय तहसँग पनि यसैगरी सम्झौता हुने जानकारी दिनुभयो ।

उत्पादक किसानको हित संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४÷७५ मा कर्णालीका पाँच जिल्लाबाट सिमी, फापर, उवा खरिद गरिएको थियो । समझदारी अनुसार सिमिकोट गाउँपालिकाबाट १३ क्विन्टल सिमी, १९ क्विन्टल फापर, ११ क्विन्टल चिनु र ८० केजी कागुनो प्राप्त भइसकेको छ ।

विगतमा स्थानीय तहमा उत्पादित चामल र दाल मात्रै बिक्री वितरण गर्ने कम्पनीले पछिल्लो समय अन्य बालीको बजारीकरण सुरु गरेको हो ।