महालक्ष्मी र सूर्यविनायक जोड्ने पुलको समुद्घाटन

काठमाडौं, असार ३० गते । महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चांगाथलीस्थित ढुंग्रे खोलामा निर्मित पुलको समुद्घाटन भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले शनिबार पुलको उद्घाटन गर्नुभएको हो ।

२०७८ साल माघमा तत्कालिन मेयर रामेश्वर श्रेष्ठले शिलान्यास गर्नुभएको सो पुलको उदघाटन भएसँगै महालक्ष्मी नगरपालिकाबाट सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट हुँदै आउजाउद गर्न सहज भएको छ ।

२ करोड ३६ लाख रुपैयाँ लागत अनुमान गरेको पुल सम्पन्न हुँदा १ करोड ४८ लाख रुपैयाँमा पूरा भएको उपमेयर महर्जनले जानकारी दिनुभयो ।

शनिबार नै महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले चांगाथली क्लवदेखि गोदावारीसम्मको ७७० मिटर लामो कालोपत्रे सडक उदघाटन गर्नुभएको छ ।
ढुंग्रे खोलामा निर्मित पुल उदघाटन गर्दै मेयर श्रेष्ठले अब महालक्ष्मीमा विकास अभियानले तीब्रता पाउने बताउनुभयो । उहाँले ढुंग्रे खोलामा पुल बनेसँगै जोडिएका बाटोले राजमार्गको रुप लिने बताउनुभयो ।

मेयर श्रेष्ठले नगरपालिकामा पटक पटक बाटो बनाउँदै भत्काउने प्रथा अन्त्य गर्न सुरुमा ढलको पाइप राखे पनि मात्रै कालोपत्रे गर्ने नीति लिएको बताउनुभयो । उहाँले नगरले बनाएका बाटोहरुलाई चिन्नका लागि दायाँबायाँ पहेंलो लाइन लगाउने गरिएको जानकारी दिनुभयो ।

मेयर श्रेष्ठले खानेपानीको समस्या नगरको प्रमुख समस्या रहेको बताउँदै वडा नम्बर ७ लाई लुभुबाट खानेपानी ल्याएर आपूर्ति व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

उपमेयर लक्ष्मी महर्जनले नयाँ जनप्रतिनिधि आएसँगै तेस्रो आयोजना सम्पन्न गरेर उदघाटन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पुल, बाटो लगायतका आयोजनाको गुणस्तरीयता जाँचमा कुनै सम्झौता नगर्ने बताउनुभयो ।

वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जनले आफू निर्वाचित भएको एक वर्षमै कालोपत्रे सडक र पुल सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नयाँ जनप्रतिनिधिले विभिन्न कारणले पेन्डिङमा रहेका योजनाहरु पूरा गरिरहेको जानकारी दिँदै ठेकेदारहरुलाई कम रेटमा ठेक्का प्रस्ताव गरेर आलटाल गर्ने प्रवृत्ति अब स्वीकार्न नसकिने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक २ का वडाध्यक्ष प्रदीप कार्कीले पुल निर्माण भएसँगै दुवै पालिकामा आउजाउ गर्न सहज भएको धारणा राख्नुभयो ।

कार्यक्रममा महालक्ष्मीका वडाध्यक्षहरु, वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी एवं ठूलो संख्यामा स्थानीयको उपस्थिति थियो ।