काठमाडौं – काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउने उद्देश्यले शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक साधन तथा उपकरण हस्तान्तरण गरेको छ । आज गुल्म परिसरमा आयोजित एक कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गुल्मपति सुमित राज मल्ललाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नविन मानन्धर, विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक एवं वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, कार्यपालिका सदस्य मीना सुनार, हनुमान ढोका संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेल, महानगर प्रहरी बलका प्रमुख, विपद् व्यवस्थापन विभागका प्रमुख, जनपथ प्रहरी प्रमुखसहित सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
महानगरपालिकाले ६ किलोग्राम तौलका १६५ वटा फायर इस्टिङ्ग्वीसर, एक थान पोर्टेबल वाटर पम्प, डेलिभरी होज पाइप तथा फायर बुट हस्तान्तरण गरेको जनाएको छ । यी सामग्री आगलागी तथा अन्य विपद्का घटनामा तत्काल प्रयोग गर्न सकिने खालका हुन् ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले विपद् व्यवस्थापन बहुसाझेदारको साझा प्रयासबाट मात्रै प्रभावकारी हुने उल्लेख गर्दै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न महानगरले सहयोग प्रदान गरेको बताए ।“विपद् व्यवस्थापन वहुसाझेदारको साझा प्रयत्नबाट परिणाम आउने काम हो । यसमा सबै साझेदारको क्षमता बढाउनुपर्ने भएकाले सुरक्षा निकायलाई सहायता प्रदान गरिएको हो,” उनले भने, महानगरपालिकाले नीति तथा योजना तर्जुमा गर्दै आवश्यक बजेटको व्यवस्था गरी विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे ।
गुल्मपति मल्लका अनुसार हस्तान्तरण गरिएका फायर इस्टिङ्ग्वीसर नेपाली सेनाका विभिन्न युनिटहरूमा वितरण गरिनेछ । सामग्री प्राप्तिपछि सेनाको विपद् व्यवस्थापन टोलीले नारायण पोखरी क्षेत्रमा पोर्टेबल वाटर पम्पमा डेलिभरी होज जडान गरी एक स्थानको पानी अर्को स्थानमा पुर्याउने अभ्यास प्रदर्शन गरेको थियो। यस अभ्यासले आकस्मिक अवस्थाको पूर्वतयारी सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
वि.सं. १८५६ सालदेखि हनुमानढोका दरबार क्षेत्रमा तैनाथ शार्दुलजंग गुल्म उपत्यकामा मनाइने प्रमुख जात्राहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यस गुल्मले हनुमानढोकामा अवस्थित राष्ट्रिय ढुकुटी, हनुमानढोका दरबार संग्रहालय तथा तलेजु भवानी मन्दिरको सुरक्षा व्यवस्थापन गर्दै आएको छ। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गुल्मलाई आगलागी नियन्त्रण सामग्री उपलब्ध गराइएसँगै सम्पदा क्षेत्रको सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ ।



