काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकीछन् ।
दुई–तिहाइ नजिकको सांसद संख्यासहित पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह आज देशको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ। नवयुवाहरूको ठूलो आशा, भरोसा र विश्वासको जिम्मेवारी बोकेर युवा उमेरमै शाहले देशको कार्यकारी नेतृत्व सम्हाल्नुभएको कार्यवाहक प्रमुख डंगोलले उल्लेख गिरन् ।
कार्यवाहक प्रमुख डंगोलले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा आफू र शाहले काठमाडौं महानगरपालिकामा करिब साढे तीन वर्ष सँगसँगै काम गरेको स्मरण गरेकिछिन् । “गत स्थानीय तह निर्वाचनपछि तपाईं काठमाडौं महानगरपालिकाको मेयर र म उपमेयर पदमा निर्वाचित भई सँगै काम गरेका थियौँ,” उनले भनिन् ।
उनले आम नेपाली नागरिकको मन जित्दै शाह प्रधानमन्त्री पदमा पुग्नु देशका युवाका लागि ठूलो प्रेरणाको विषय भएको उल्लेख गरेकीछन् ।
डंगोलले काठमाडौं महानगरपालिका केन्द्रीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री शाहको नेतृत्वमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने अपेक्षा व्यक्त गरिन् ।
“राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा तपाईंको नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्नेछ भन्ने विश्वास लिएको छु,” सन्देशमा उल्लेख गरिएको छ।
उनले प्रधानमन्त्री शाह र उहाँको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर जनताले देखेको समृद्धिको सपना साकार पार्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिईन् ।



