काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्ने तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो ।
बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिनेछन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो भने नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र एक स्वतन्त्र सांसद रहेका छन् ।
शीर्ष नेताहरूको सम्बोधन
आजको बैठकमा अधिवेशन प्रारम्भका अवसरमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। कांग्रेसबाट सम्बोधन गर्ने नेताको नाम भने तय भइसकेको छैन ।
तीन अध्यादेश पेश हुने
आजको बैठकमा तीन वटा अध्यादेश पनि पेश हुने सम्भावित कार्यसूची छ। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेश गर्नेछन्।
यसका साथै प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेश हुनेछ ।
सभामुख निर्वाचन तालिका सार्वजनिक हुने
आजकै बैठकबाट सभामुख निर्वाचनको तालिका पनि सार्वजनिक गरिनेछ। सर्वदलीय बैठकमा चैत २२ गते सभामुख निर्वाचन गर्ने सहमति भएको थियो ।
बैठकको अन्त्यमा संविधानसभा सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा राष्ट्रियसभा सदस्य बलदेव बोहोराप्रति श्रद्धाञ्जलीस्वरूप शोक प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।



