प्रहरीको ‘क्लिन स्वीप’ अभियान : चार दिनमै गुण्डागर्दी आरोपमा २२६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरी ले गुण्डागर्दी, बिचौलियागिरी तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा चार दिनमै २२६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले का अनुसार चैत १८, १९, २० र २१ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत ती व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालय ले सार्वजनिक गरेको विवरणअनुसार चैत १८ गते काठमाडौँ उपत्यका बाट ५१ जना र कोशी प्रदेश बाट १८ जना पक्राउ परेका थिए ।

यस्तै चैत १९ गते कोशी प्रदेशबाट एक, मधेस प्रदेश बाट सात, बागमती प्रदेश बाट २३, गण्डकी प्रदेश बाट दुई तथा कर्णाली प्रदेश बाट ११ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत २० गते मधेस प्रदेशबाट आठ, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेश बाट चार र सुदूरपश्चिम प्रदेश बाट दुई जना पक्राउ परेका छन् ।

त्यसैगरी चैत २१ गते काठमाडौँ उपत्यकाबाट मात्र ६२ जना पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये गुण्डागर्दी गर्ने, बिचौलियागिरी गर्ने, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू रहेका छन् ।

प्रवक्ता काफ्लेले गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिए ।