दूषित खाद्यका कारण हरेक वर्ष ६० करोड मानिस बिरामी

काठमाडौं – दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।

सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा पारित गरेको प्रस्तावअनुसार जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरिएको थियो। त्यसयता सन् २०१९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् ।

विशेषज्ञहरूका अनुसार पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव स्वास्थ्य, जीवन र समग्र कल्याणका लागि अत्यन्त आवश्यक छ। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षाको विषय अझ संवेदनशील मानिन्छ ।

डब्लुएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन् । यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई बढी प्रभावित गर्ने गरेको बताइएको छ ।

खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो । खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका प्रत्येक चरणमा सुरक्षा मापदण्डको पालना गर्न सके खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने विज्ञहरूको भनाइ छ ।

विश्व खाद्य सुरक्षा दिवसका अवसरमा प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।

सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूले बताएका छन् ।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन तथा दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।