पोखरा — गण्डकी प्रदेशको रुपाताल आगामी केही वर्षमै नयाँ पहिचानसहित आकर्षक पर्यटकीय गन्तव्य बन्ने तयारीमा छ। पर्यावरणीय संरक्षण, जलचर सुरक्षा, सिँचाइ तथा जलविद्युत् उत्पादनलाई एकैसाथ जोडेर अघि बढाइएको एकीकृत विकास परियोजनाले तालको स्वरूप नै परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।
जलस्रोत तथा सिँचाइ विभाग का महानिर्देशक ई. मित्र बरालका अनुसार रुपाताल संरक्षण गुरुयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर बहुआयामिक काम भइरहेको छ । “पर्यावरणीय सन्तुलनसँगै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य राखिएको छ,” उनले बताए ।
लागत बढ्यो, लक्ष्य विस्तार
२०७५/७६ देखि सुरु गरिएको परियोजनाको कुल अनुमानित लागत करिब रु ५२ अर्ब ६४ करोड पुगेको छ भने २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब रु २ अर्ब ७० करोड बराबरको काम सम्पन्न भइसकेको छ ।
परियोजना प्रमुख विदुरमान श्रेष्ठ का अनुसार निर्माणाधीन बाँध सम्पन्न भएसँगै १२२ हेक्टर क्षेत्रफल रहेको ताल १८३ हेक्टरमा विस्तार हुनेछ । साथै तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर पुग्नेछ ।
पूर्वाधार विकास तीव्र
परियोजनाअन्तर्गत ५९० मिटर माटो बाँध र ४५ मिटर कङ्क्रिट बाँध निर्माण भइरहेको छ, जसको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। तालको बायाँ किनारमा ७.८ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ भने दायाँ किनारमा पाँच किलोमिटर ‘इको ट्रेल’ बनाउने योजना छ ।
तालभित्र रहेको करिब आठ लाख घनमिटर माटो व्यवस्थापन कार्यसमेत भइरहेको छ। साथै, तालको बीचमा टापु निर्माण गरी मन्दिर स्थापना गर्ने योजना अघि बढाइएको छ, जसले धार्मिक पर्यटनलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ ।
कृषि र स्थानीय अर्थतन्त्रमा प्रभाव
परियोजना सम्पन्न भएसँगै सिँचाइ विस्तार, माछापालन तथा पर्यटनबाट स्थानीय आम्दानी वृद्धि हुने विश्वास गरिएको छ। रुपाताल आसपासका किसानले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ ।
रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारीका अध्यक्ष रामबहादुर थापा का अनुसार ताल संरक्षणसँगै स्थानीय उत्पादन र रोजगारीका अवसर पनि बढ्नेछन् ।
मोती उत्पादनदेखि चरा पर्यटनसम्म
रुपातालमा मोती उत्पादनको परीक्षण पनि सुरु गरिएको छ। यसअघि मत्स्य अनुसन्धान केन्द्र बेगनास ले सम्भाव्यता पुष्टि गरेपछि परीक्षण अघि बढाइएको हो । सफल भएमा यो ताल नयाँ आर्थिक सम्भावनाको केन्द्र बन्न सक्छ ।
त्यस्तै, चरा पर्यटनका हिसाबले पनि रुपाताल महत्त्वपूर्ण बन्दै गएको छ । पोखरा पन्छी समाज का अनुसार हिउँदमा चीन र साइबेरियाबाट आउने विभिन्न प्रजातिका चराले ताललाई आकर्षक बनाउने गरेका छन् ।
पर्यटक आकर्षण बढ्दो
तालमाथि निर्माण गरिएको २६९ मिटर लामो झोलुङ्गे पुल, प्राणी उद्यान केन्द्र, माछा परिकार र स्विमिङ–फिसिङ गतिविधिले रुपाताललाई आन्तरिक पर्यटनको केन्द्र बनाउँदै लगेको छ । पछिल्लो समय युवापुस्तामाझ भेटघाट र मनोरञ्जनको नयाँ गन्तव्यका रूपमा समेत विकास भइरहेको छ ।
संरक्षणसँगै दीगो विकास
विगतमा अतिक्रमण र प्राकृतिक क्षयको चपेटामा परेको रुपाताल अब संरक्षण र दीगो विकासको नमूना बन्ने दिशामा अघि बढिरहेको छ । सबै योजनाबद्ध काम सम्पन्न भएमा आगामी केही वर्षमै रुपाताल गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय, पर्यावरणीय र आर्थिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।



