सुकुम्वासी बस्ती हटाउने बारे रास्वपाको धारण : आश्रय लिनु र अवैध रूपमा कब्जा गर्नु फरक विषय हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सुकुम्वासीको नाममा सार्वजनिक स्थान ओगटेर बस्ने र अनैतिक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

काठमाडौंका सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीबारे प्रतिक्रिया दिँदै उनले आश्रय लिनु र अवैध रूपमा कब्जा गर्नु फरक विषय भएको स्पष्ट पारे । “सरकारले बसोबासका लागि वैकल्पिक र व्यवस्थित ठाउँ नबनाएको होइन,” उनले भने, “यदि साँच्चिकै सुकुम्वासी हुन् भने उनीहरूको संरक्षण गर्नु सरकारको दायित्व हो।”

उनले वास्तविक सुकुम्वासीको पहिचान गरी सूचीकरण, व्यवस्थापन र संरक्षण गर्नुपर्नेमा जोड दिए। “यहाँ ठाउँ ओगटेर बस्ने र आफूलाई गरिब भन्दै अनैतिक तथा अव्यवहारिक काम गर्नेहरूलाई कारबाहीमा ल्याउनै पर्छ,” उनले थपे।

यसैबीच, सरकारले काठमाडौं महानगरपालिका को समन्वयमा राजधानीका विभिन्न सुकुम्वासी बस्ती हटाउने तयारी अघि बढाएको छ। सोहीअनुसार सम्बन्धित क्षेत्रका बासिन्दालाई स्थान खाली गर्न माइकिङसमेत गरिएको छ।