वर्षासँगै देशभर पहिरो, मुख्य राजमार्गहरू अवरुद्ध

काठमाडौँ – केही दिनयतादेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार आज बिहान खसेको पहिरोले कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडा खण्ड पूर्ण रूपमा बन्द भएको छ ।

त्यसैगरी प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड र लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार वैशाख १६ गतेको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारी खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

यस्तै, वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र वैशाख १६ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा गएको पहिरोका कारण बन्द भएको बेनी–जोमसोम सडकखण्ड भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

वर्षायाम सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्दै गएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।